Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

कसरी जन्मियो ‘मेरो एक्सको छम्मा’ ? गायिका सिर्जना खत्रीसँगको कुराकानी

गायिका सिर्जना खत्री र गायक मिस्टर आर.जे.को ‘मेरो एक्सको छम्मा’ले बजार तताएको छ । चर्चा र विवाद दुवै खेपेको उक्त गीतकी गायिका ‘सिर्जना खत्री’सँग फिल्मीइन्फोले विशेष कुराकानी गरेको छ ।

१. यो पालीको दशैं र तिहार कस्तो भयो ?

यो पालीको दशैं र तिहार एकदमै रमाइलो भयो । दशैं र तिहार गाउँमै मनाएँ । आमाबुबा र परिवारसँगै मनाउन पाउँदा धेरै खुशी भएँ ।

 

२. कोभिड १९ को कारणले देश विदेशको यात्रामा असर त पक्कै पर्यो, आगामी कुनै कार्यक्रम छ ?

कोभिड १९ को कारणले यो समयमा विश्व नै आक्रान्त बनिरहेको छ । यसको असर हाम्रो सांगीतिक क्षेत्रलाई पनि परेको छ । अहिले कुनै पनि कार्यक्रमहरु आयोजना भइरहेको छैन । अहिले विभिन्न गीतहरु रेकर्ड गर्ने, भिडियो बनाउने, रिलिज गर्ने कामहरु मात्र गरिरहेका छौं । कार्यक्रमहरु अहिले तुरुन्तै छैन । यो अवस्था सामान्य भएपछि मात्र कार्यक्रमहरु हुन्छ होला । योजनाहरु बन्दैछन् र आशा गरौं, चाँडै नै सामान्य अवस्था होस् ।

 

३. तपाईले जुन गीत निकाल्नुहुन्छ, त्यो गीत प्रायः हिट हुन्छ । यो पाली मेरो एक्सको छम्माले त झन् रेकर्ड नै तोड्यो, कस्तो अनुभव भइरकेको छ ?

सबै गीत हिट हुन्छ भन्ने त हुँदैन । तर, अहिले रेगुलर ३–४ वटा गीत चाहिँ हिट भइरहेको छ । अहिले एक्सको छम्माले चर्चा, विवाद हुँदै चर्चा मै रह्यो । मलाई ठिकै अनुभव भएको छ । किनभने, मेरो यो नयाँ अनुभव पनि हो । मैले यत्तिकै आफैले सोचेर, एक किसिमको स्टोरी रचेर र्याप शैलीमा गाएको गीत हो । मैले कुनै आशा पनि रोखेको थिइनँ । केवल एउटा कथा भन्छु भनेर मैले बनाएको थिएँ । अहिले चर्चा, विवाद जेजस्तो भएपनि मैले सामान्य रुपमै लिएको छु । तर, आगामी कामको लागि भने केहि ध्यान पुर्याउनुपर्छ भनेर सोचिरहेको छु ।

 

४. यो गीतको शब्दहरुलाई लिएर नकारात्मक टिप्पणीहरु पनि आए, तपाई ट्रोलको सिकार हुनुभयो, तर तपाईले यसलाई सहजै पचाउनु पनि भयो, कसरी सक्नुभयो ?

हजुर, एकदमै नकारात्मक टिप्पणीहरु पनि आए । सकारात्मक धेरै थियो तर नकारात्मक चिजहरु अगाडी आउँछ जहिले पनि, यो कुरा सत्य हो । विभिन्न ट्रोलहरु आए । यो पचाउने भन्दा पनि मान्छेलाई परिसकेपछि यो सबै कुराहरु सहनैपर्छ । कसैले योजना बनाएको हुँदैन, अथवा अचानक आएका कुराहरु सहनैपर्ने हुन्छ । र, मैले यो दर्शकहरुको माया कै रुपमा लिएको छु । अनि, अर्को कुरा दर्शकहरुले मैले गरेका कामहरुभन्दा अझै बढी आशा गर्नुभएको थियो जस्तो लाग्यो । त्यसले गर्दा, शब्दलाई लिएर आलोचना, विभिन्न टिकाटिप्पनीहरु आए तर मैले एउटा समाजको खराब क्यारेक्टरलाई त्यो शब्द प्रयोग गरेको थिएँ । कुनै जात, समुदायलाई असर पर्ने गरी भनेको होइन ।

 

५. गायक भिटेनको पारा गीतको विवादलाई कुन रुपमा हेर्नुभएको छ ?

यो सन्दर्भमा त अदालतले नै भनिसकेको छ कि गीत संगीतको विषयलाई लिएर यसरी प्रहरीले समाउन वा कारवाही गर्न मिल्दैन । विवाद पहिला पनि भएको हो । अब यो हाम्रो नेपाली समाजमा यस्तो खालको गीतहरु पच्न गाह्रो भएर पनि हुनसक्छ । तर भिटेनले समाजमा जे देख्यो, जे भोग्यो, त्यहि कुराहरुलाई त गीत मार्फत व्यक्त गरेको हो ।

६. पुण्य गौतमले तपाईको गीतलाई के खालको गीत हो भनेर हिंड्यो, तर तपाई ऊसँगै अन्तर्वार्ता दिन पुग्नुभयो, कतै यो तपाईहरुको गीत भाइरल गर्ने चाल त होइन ?

पुण्य गौतमले पक्कै पनि पहिला ‘के गीत गाएको यो ?’ भनेर भन्नुभएको हो । अनि अन्तर्वार्ताको कुरा चाहिँ, म अन्तर्वार्ता दिने योजनाले गएको होइन । उहाँले मलाई भेट्न अनुरोध गर्नुभएको थियो । उहाँको अनुरोधलाई स्विकारेर भेट्न गएकी थिएँ तर त्यहाँनिर उहाँले चाल चल्नुभएको हो । पत्रकारहरु लिएर आउनुभएको रहेछ, मलाई थाहा थिएन । नत्र मैले मिडियाहरुलाई होल्ड गरेर राखेको थिएँ । पछि केहि सोचेर बोल्छु भनेर । तर अचानक म त्यसरी अन्तवार्ता दिन बाध्न भएँ । यो कुनै चाल होइन, केहि पनि होइन । उहाँसँग न मेरो कुनै दुश्मनी छ, न त घनिष्ट मित्रता नै । उहाँलाई चिनेको पनि भर्खरै हो ।

 

७. तपाईलाई सिर्जना खत्री भनेर चिनोस् जस्तो लाग्छ कि हाउडेमाया वा एक्सको छम्मा भनेर ?

सिर्जना खत्री त मेरो नाम भइहाल्यो । ‘हाउडेमाया’ चाहिँ त्यो गीत पछि दर्शकहरुले दिनुभएको नाम हो । मलाई जे भनेर चिन्दा पनि फरक पर्दैन । किनभने एउटा क्रियशनले चिनाउने हो नि त हामीलाई । हाम्रो अगाडी पहिला क्रियशन आउँछ, अनि मात्र हाम्रो नाम आउने हो । मलाई जसरी चिन्नुहुन्छ, जसरी स्विकार्नुहुन्छ, म सहमत छु ।

 

८. तपाईका आगामी योजनाहरु के के छन् ?

अब यहि हो, गीत संगीतको क्षेत्रमा छु । यसलाई नै निरन्तरता दिन्छु । अब अहिलेको यो चर्चा, विवाद, आलोचनाबाट सिकेर केहि नयाँ गर्नेछु ।

तपाईको प्रतिक्रिया

...र यो पनि