Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘हल’ खोल्ने अनुमति नदिनु सहि वा गलत ? (विचार)

कोभिड १९ को कारणले सम्पूर्ण क्षेत्रलाई असर परेको छ । लकडाउन र निषेधाज्ञाको मारमा सबै परे । सरकारले जनजीवन सहज बनाउने प्रयास गर्दै सबै क्षेत्रलाई सजगता अपनाउँदै काम गर्न अनुमति दियो । अहिले बजारमा भीड हेर्ने हो भने कोभिडको डर र त्रास नै हराएको जस्तो देखिन्छ । दशैं र तिहारमा निर्धक्क भएर सामान्य अवस्थामा झैं हिंड्डुल र किनमेलका लागि मान्छेहरु बजारमा निस्किए । तर, चलचित्र क्षेत्रमा भने अझै लकडाउन नै छ । छायाँकन गर्ने अनुमति छैन भने सिनेमा हलहरु पनि बन्द नै छन् । यसको मारमा कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरु परेका छन् । यसै सन्दर्भमा फिल्मीइन्फोले सम्बन्धित व्यक्तित्वहरुलाई गहन प्रश्न गरेको छ ।

सबै क्षेत्र खोलिसक्दा पनि सरकारले ‘सिनेमा हल’ खोल्ने अनुमति नदिनुलाई कसरी लिनुहुन्छ ?

भुवन केसी
कलाकार, निर्माता तथा निर्देशक

यो कोभिड महामारीले गर्दा फिल्म क्षेत्रलाई धेरै असर पुगेको छ । फिल्म छायाँकनहरु सबै ठप्प छन् । कलाकार र प्राविधिकहरुले काम पाउन मुस्किल भएको छ । सिनेमा हलहरु बन्द छन् । कोभिडले सबै क्षेत्रलाई असर गरेतापनि मनोरञ्जन क्षेत्रलाई अझै धेरै असर गरेको छ । किनभने मनोरञ्जन भन्ने बित्तिकै रमाइलो वातावरणमा, साथीभाईहरुसँग र भिडभाड हुने गरी गरिने चिज हो । त्यसैले, सुटिङहरु हुन सकिरहेको छैन, महोत्सवहरु भइरहेका छैनन्, स्टेज शोहरु हुनसकिरहेको छैन ।
कोभिड एउटा लडाई हो, युद्ध हो । यो युद्धलाई लडेर जित्नुपर्छ । यो भवितव्यलाई संघर्ष गरेर पार गर्नुपर्छ । सरकारले कला क्षेत्रलाई लगाएको बन्देज बिस्तारै खुकुलो पार्दै लग्नुपर्छ, सजगता अपनाएर खोल्नु आवश्यक छ । समस्या आएपछि समाधान जरुर हुन्छ, समाधान गर्ने काम सरकारको हो । सरकारको काम बन्द मात्र गर्ने होइन, समाधान गर्न पनि अग्रसर हुनुपर्छ । त्यसैले, अब सरकारले सजगता अपनाउँदै हलहरु सञ्चालन गर्न दिएर मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्नुपर्छ । जबसम्म मनोरञ्जन मान्छेको जीवनमा हुँदैन, तबसम्म मान्छेमा नैराश्यता छाइरहन्छ । त्यसैले, यो घडिमा हामीले दुःखका साथसाथै अलिकति मनोरञ्जन लिनु पनि एकदमै आवश्यकता छ । तसर्थ हामीले बिस्तारै बिस्तारै अब मनोरञ्जनको क्षेत्रलाई वा भनौं हलहरु सञ्चालन गर्न दिएर अगाडी बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।

 

दिपकराज गिरी
कलाकार, निर्माता तथा निर्देशक

चलचित्र क्षेत्र मनोरञ्जनको क्षेत्र हो । पहिला केहि नहुँदा पनि यो क्षेत्रलाइ सरकार अनुत्पादक, नाच गान गरेर रमाइलो गर्ने तर महत्वहिन क्षेत्रको रूपमा स्विकार गर्दै आएको देख्छु । चलचित्रले समाजमा ठूलो भूमिका खेल्छ, राष्ट्रको पहिचान सिमानाबाट मात्रै हुँदैन बरू त्यहाँको धर्म संस्कृति आदिइत्यादि कुराबाट हुन्छ । चलचित्रले देशको भाषा संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ भन्ने कुराको हेक्का छँदै छैन ।
त्यसमाथि यो अवस्थामा त केहि आश गर्नु बेकार नै हो । ठूला मठ मन्दिर, सिनेमा हल जस्ता कुरा चाँहि खोलिएको छैन भिडभाडको डरले, त्यो एक हिसाबले सहि हो तर असन, इन्द्रचोकमा तिहारमा लागेको भिड़ देख्दा त चलचित्र भवन र मन्दिर मात्रै किन बन्द गर्नु पर्यो जस्तो लाग्यो । बाँकि सरकार नै जानकार छ, हामी त आदेश पालक असल नागरिक नै हुनु पर्यो नि ।

 

 

निर्मल शर्मा
कलाकार, निर्माता तथा निर्देशक

सबैभन्दा पहिले जनता सुरक्षित हुनुपर्यो । उपचार पद्धती ठिक हुनुपर्यो, नागरिक यो भय र त्रासबाट मुक्त हुनुपर्यो अनि पर्यटन क्षेत्र, कल कारखाना खुल्नु पर्यो । एयरलाईन्स, यातायात अनि अन्य व्यवसाय सुचारु हुनुपर्यो र यो सब भएपछि विगतका नोक्सान कभर भएपछि मान्छेको घर परिवारमा खुशी आएपछि अनि मात्र अन्तिममा मनोरञ्जनको पालो आउँछ भन्ने मेरो बुझाई हो । समर्पित निर्माताहरुको तयार भएको र बिचमा रोकिएका चलचित्रहरु सरोकारवालाहरुले सुरक्षित बनाउन पहल गर्न जरुरी छ ।

 

 

अर्जुन कुमार
निर्माता

किन खोल्ने हल ? अहिले हल खोल्नुपर्छ भन्नेमा म छैन । सबै कुरा सहज भएपछि खोल्नु राम्रो हो । हलिउड, बलिउड त्यहाँ खोलेको छैन, नेपालमा खोलेर के गर्ने ? हुन्छ के खोलेर ? त्यसैले, हल खोल्नु मुर्खता हो ।

 

असिम शाह
निर्देशक

हल खोल्ने अनुमति दिनु ठूलो कुरा भएन, अब खुलेपछि कसरी सुविधा दिने कुरा हो सरकारले । हल खुल्ने बित्तिकै देखाउने फिल्म छैन, आउने दर्शक छैन । आए अकुपेन्सी ५० प्रतिशतमा राख्नुपर्छ । खर्च झन् बढ्छ हलको, यो सबैको उचित नीति नियम सहित खोल्ने योजना ल्याउनुपर्छ सरकारले ।

 

 

श्रद्धा क्षेत्री
नायिका

मलाई लाग्छ, जब सरकारले सबै क्षेत्र खोल्ने अनुमति दिनुभएको छ भने हल पनि खोल्ने अनुमति दिनुपर्ने हो । हलमा मात्र कोरोना हुन्छ र ?

 

 

लक्ष्मी बर्देवा
नायिका

फिल्म क्षेत्र प्रति सरकार कति गैर जिम्मेवार छ भन्ने कुराको एउटा उदाहरणको रुपमा लिन्छु म यसलाई । यो कोरोनाको कहर कहिले सम्म चल्न सक्छ भन्ने ठोस अनुमान गर्न सकिने अवस्था छैन । त्यसै पनि जहिले आर्थिक असुरक्षाको दायरामा रहने फिल्म क्षेत्रलाई कोरोनाले दिनानुदिन गाल्दै लगेको अवस्था छ । यस्तो स्थितिमा विभिन्न सुरक्षाको पाटो अपनाएर हल सञ्चालन गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । यदि यस्तै स्थिति लम्बिदै जाने हो भने धेरै कलाकार, प्राबिधिक फिल्म क्षेत्रबाट पलाएन हुने सम्भावना धेरै छ ।

 

 

लोकेश बज्राचार्य
सम्पादक तथा निर्देशक

सबै कुरा खोलिसकेपछि निश्चित मापदण्ड अपनाएर हल खोल्न दिनुपर्छ । फिल्म क्षेत्रमा काम गर्ने प्राविधिक लगायत कलाकारहरुलाई यसले राहत पुग्नेछ । तर, सामाजिक दुरी कायम गर्न र कोरोना फैलन नदिनको लागि भने सरकार र हलवालाहरुले गम्भिर भएर सोच्न आवश्यक छ ।

 

 

प्रविन श्रेष्ठ
सम्पादक तथा निर्देशक

खोई के भन्ने ? सरकार आफै जनताको कर खाएर जनताकै शान्ति, सुरक्षा, शिक्षा र स्वास्थ्यको ख्याल गर्न सक्दैन, त्यस्तो सरकारबाट के आशा राख्नु । भो कुरा नगरम ।

 

 

प्रभात लामा
रंगपत्रकार

पहिलो कुरा, सिनेमा क्षेत्रको विकास र अधिकारको लागि लड्ने भनेर खोलिएका संघसंस्थाहरु, जस्तै चलचित्र विकास बोर्ड, कलाकार संघ, निर्माता संघ जस्ता संगठनहरु र यसका नेत्तृत्वकर्ताहरुको ठूलो कमजोरी रहेको छ । उनीहरुको क्षमता र अग्रसरता अथवा चिन्ता अलि देखिएन सिनेमा हल खोलाउनुपर्छ भनेर । बरु सिनेमा लाइनभन्दा यातायात क्षेत्र पावरफुल देखियो, किनभने राजनीतिक प्रभाव वा नेत्तृत्वकर्ताहरुलाई झक्झकाउनलाई यातायात लाइनका मान्छेहरु अगाडी रहेछन् । तर, सिनेमा लाइनका नेत्तृत्वकर्ताहरुको कमजोरी देखियो ।
अर्को कुरा, सरकारले सिनेमा वा कला क्षेत्रलाई अझैपनि हेपाहा तरिकाले हेर्ने गरेको रहेछ भन्ने स्पष्ट हुन्छ । किनकि कलाकारहरुलाई सरकारले अझपनि गहनाका रुपमा लिन्छन् । समस्या यहि हो, जबसम्म सरकारले यस क्षेत्रलाई महत्वपूर्ण अंग हो भनेर ठान्दैन, तबसम्म यसरी बेवास्तामा परिरहन्छन् सिनेमा क्षेत्रहरु । किनभने गहनाहरु अक्सर चाडपर्वहरुमा मात्र आवश्यक पर्ने हो । तर, अंगहरु मानव शरीरलाई सधैं चाहिन्छ । त्यसकारण, कलाकार राज्यको अंग हुन् भनेर स्थापना गर्नका लागि नै नेत्तृत्वकर्ताहरुले ठूलो भूमिका खेल्नुपर्छ ।
सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु बोक्न थालिसक्यो, रेष्टुरेन्टहरुमा पनि भरिभराउ मान्छेहरु हुन थालिसके । यस अवस्थामा सिनेमा क्षेत्रलाई मात्रै मार पर्ने गरेर हल बन्द गरेर कोरोना रोक्न सकिन्छ भन्नु सुतुर्मुर्गले बालुवामा टाउको लुकाएर शत्रुबाट बच्न सकिन्छ भन्ने भ्रम लिए जस्तै हो सरकारको । यसकारण आवश्यक तयारी, सुरक्षाको कुरा अपनाएर हल खोल्नुपर्छ । र, यसकारण नेत्तृत्वकर्ताहरु अग्रसर हुनुपर्छ, कडारुपमा प्रस्तुत हुनुपर्छ भन्ने मेरो भनाई हो ।

 

 

सचित खड्का
रंगपत्रकार

सम्पुर्ण मापदण्ड पुरा गरेर हल खुलाउँदा खासै असर नपर्नु पर्ने हो । तर सम्बन्धित निकायमा भएकाहरुको अपरिपक्वताका कारण यो अवस्था आएको हो कि भन्ने लाग्छ मलाई ।

 

तपाईको प्रतिक्रिया