Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य, पूर्वपत्नी मीनाले लेखिन् भावुक पत्र

कमेडी च्याम्पियनका एक निर्णायक तथा हास्य कलाकार ‘मनोज गजुरेल’लाई कोरोना संक्रमण भएको विजया दशमीको बेलुका मात्र थाहा भयो । उनलाई कोभिड पोजिटिभ भएपछि आफ्नो आधिकारिक फेसबुकबाट सबैलाई जानकारी गराएका थिए । उनले लामो स्टाटस लेख्दै अन्तमा लेखेका छन्, “मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ ।”

उनको मनोबल जति नै उच्च भएपनि उनी हस्पिटल भर्ना हुनुपर्यो । आज दिनभरी उनको स्वास्थ्य अवस्था नाजुक भन्दै कयौं समाचारहरु आए । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई हामीले वास्तविकता के हो भनेर सोधेका थियौं । उहाँ भन्नुहुन्छ, “सामाजिक संजालमा हाम्रा प्रिय निर्णायक मनोज गजुरेल सरको स्वास्थ्य स्थितिबारे अस्पष्ट समाचार संप्रेषण भइरहेको बेला कमेडी च्याम्पियनले मनोज सरको परिवारजनलाई सम्पर्क गर्दा, कोभिड १९ बाट सुधारउन्मुख छ । उहाँको श्वास–प्रश्वासमा सामान्य समस्या देखिएकाले अस्पताल भर्ना हुनुभएको हो भन्ने बुझियो । तर त्यो समस्या हल भइसक्यो, र अब उहाँको स्वास्थ्य तिव्र रूपमा सुधार हुने क्रममा छ।”

मनोजकी पूर्वपत्नी मीना ढकाललाई पनि मनोजको स्वास्थ्य अवस्था नाजुक भन्ने अस्पष्ट समाचारले विक्षिप्त बनायो र उनले पनि फेसबुकमा स्ट्याटस लेख्दै मनोजको स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले लेखकी छिन्, “जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जिवनका बिसौं वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।
म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जिवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन–म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौं तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन्। तिमी र म बिच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ–हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !
–उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!”

 

तपाईको प्रतिक्रिया

...र यो पनि