Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक हुँदै

चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक हुने भएको छ । नायिका झरना थापा आफु अभिनित चलचित्र ‘ए मेरो हजुर’ कै नाम राखी नायिकाबाट निर्देशकको यात्रामा अघि बढेकी थिइन् । ‘ए मेरो हजुर २’मा नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह र नायक सलिनमान बानियाँको मुख्य भूमिका रहेको थियो । नायिका झरनाको डेब्यु निर्देशन रहेको उक्त चलचित्रले उनलाई सफल निर्देशकको रुपमा परिचय दिलाउन सफल भयो । त्यसैको सिक्वेल ‘ए मेरो हजुर ३’ हो । यस चलचित्रमा भने स्टार नायक अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको हो । सुहानाको डेब्यु चलचित्र रहेपनि उत्कृष्ट काम गरेको भनेर प्रशंसा बटुल्न सफल भइन् ।


चलचित्र ‘ए मेरो हजुर २ र ३’ को सफलतापछि निर्देशक झरना ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा छिन् । निर्माण पक्षले दशैंको ताका पारेर फस्टलुक पोस्टर पनि सार्वजनिक गरिसकेको छ । जसमा अनमोल र सुहानालाई नै देख्न सकिन्छ । पोस्टर सार्वजनिक गरेसँगै दर्शकहरुमा चलचित्रप्रति कौतुहलता बढाइरहेको समयमा चलचित्र ‘ए मेरो हजुर ३’लाई युट्युबबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट चलचित्र यसै साता सार्वजनिक गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि