Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

कमेडी च्याम्पियन २ मा नयाँ के ? (अन्तर्वार्ता)

गत संस्करणको कमेडी च्याम्पियन दर्शकहरुले औधी रुचाए । अन्य फ्रेन्चाइज शोहरुलाई पछि पार्दै यो शोले नयाँ रेकर्ड कायम गर्याे । डोमेस्टिक प्रोडक्टलाई नगन्ने नेपाली बजारलाई डोमेस्टिक नन् फ्रेन्चाइज शो पनि यो उचाइमा पुग्छ भन्ने नजिर बसाउन सफल भयो । यात्राका शुरुवाती दौड चुनौतीपूर्ण रहेपनि पछि दर्शकहरुको मायाले फिनालेसम्म पुग्दा नेपालकै नम्बर १ टि.भी. शो बन्न पुग्यो । गतवर्ष नेपाल आइडललाई समेत पछि पार्दै एक नम्बरको शो हुन पुगेको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसँग फिल्मी इन्फोले गरेको विशेष कुराकानीः

 

१. कमेडी च्याम्पियनको अवधारणा कसरी आयो ?

केहि रियालिटी शोमा काम गरेपछि आफ्नो केहि गर्ने सोच बनाएँ । टेलिभिजन रियालिटी शो नै गर्ने भएपछि चलिरहेको शोहरु जस्तो भन्दा फरक र बजारमा नभएको शो ल्याउन सके दर्शकहरुको माया पाइने सम्भावना हुने भएकोले कुन विषयमा काम गर्ने भन्दा नेपालमा सबैभन्दा पपुलर जनरा कमेडी रहँदै आएको हाम्रो टि.भी. र फिल्मी इतिहास देख्दा प्रष्ट हुन्थ्यो । कमेडीको नै एउटा रियालिटी शो बनाउन सके कलाकारले प्लाटफर्म पाउने र हामीलाई दर्शकहरुको माया हुन्छ जस्तो लागेर कमेडी च्याम्पियन शुरु गर्ने निर्णय लिएँ ।

 

२. निर्णायकहरुको छनौट प्रक्रिया कस्तो थियो ?

निर्णयक छान्ने क्रम रमाइलो थियो । सबै जनरा र जेनेरेशन मिलाउँदै जाँदा सिनियरमा सन्तोष पन्तलाई लिने कुरा भयो । स्टेजमा एकदमै पपुलर नाम मनोज गजुरेल अनि ३ वटा सुपरहिट कमेडी फिल्म दिइसक्नु भएको प्रदिप भट्टराई लिने कुरा भयो र रिचाजीसँग सँगै काम गरिसकेको हुनाले उहाँको ह्युमर र बोल्ने शैली तथा हाँस्न पर्दा दिल खोलेर हाँसिदिने बानीले गर्दा उहाँलाई लिने सल्लाह भयो र उहाँहरुलाई अफर गर्दा मानिदिनु पनि भयो ।

 

३. पहिलो सिजन सफलतापूर्वक सम्पन्न भयो । अबको चुनौती के हो ?

पहिलो सिजनमा दर्शकहरुको अपार माया पाउन सफल भयौं । यात्राका शुरुवाती दौड चुनौतीपूर्ण थियो तर पछि दर्शकहरुको मायाले फिनालेसम्म पुग्दा नेपालकै नम्बर १ टि.भी. शो बनाइदिनुभयो । अबको चुनौती त्यो सफलतालाई दोहोर्याउने र दर्शकहरुको आकांक्षालाई पूर्णता दिनु नै हो । अहिलेसम्म आएका अडिसनका भिडियोहरु र हाम्रो तयारीले त्यो सफलता दोहोरिने विश्वास छ ।

 

४. हिजोआज टेलिभिजनका शोहरु युट्युबको ट्रेन्डिङमा देखिए भने मात्र सफल भयो भन्ने चलन छ, यसमा तपाईको धारणा के छ ?

मिडियाको बदलिएको स्वरुप हो, यसलाई आत्मसात गर्नैपर्छ । पहिला रेडियोको जमाना थियो, पछि दैनिक पत्रपत्रिका आयो । त्यसपछि एफ.एम. स्टेशनहरु खुले, अनि स्याटेलाइट टि.भी., एच.डी. टि.भी. हुँदै अब सजिलो गरी जुनबेला मन लाग्यो त्योबेला शो हेर्न युट्युब आएकोछ । यसले हाम्रो क्रियशन ठूलो जनमानसमा पुर्याउन मद्दत नै गरेको देख्छु र त्यो सहि पनि हो । नेपालमा जहाँ टि.आर.पी. सहि मापन गर्ने सिष्टम नहुँदा पनि हाम्रो सफलताको मापन युट्युब भ्युज र ट्रेन्डिङले अनि सोसल मिडियामा हुने हल्लाले गरिरहेको अवस्था छ ।

 

५. नेपालमा द भ्वाइस अफ नेपाल, नेपाल आइडल लगायत अन्य फ्राइन्चाइज शोहरु छन्, कमेडी च्याम्पियन विशुद्ध नेपाली । प्रतिस्पर्धा कोसँग ?

टि.भी. शो बनाएपछि प्रतिस्पर्धा सबैसँग हुन्छ तर स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । मरोे प्रतिस्पर्धा सबैसँग हुन्छ, आइडल, भ्वाइस, रोडिज्, डान्सिङ विथ स्टार सबैसँग । जसको कन्टेन्ट ठूलो मासले मनपराउँछ, त्यो सबैभन्दा बढी चलेको जस्तो देखिने हो । तर, खुशी यसमानेमा लाग्छ कि डोमेस्टिक प्रोडक्टलाई नगन्ने बजारलाई डोमेस्टिक नन् फ्रेन्चाइज शो पनि सफल हुन्छ भन्ने नजिर बसाउन सकियो ।

 

६. अब कमेडी च्याम्पियनले दर्शकहरुलाई के नयाँ दिने प्रयास गर्छ त ?

नयाँ त धेरै नै योजना गर्दैछौं । अहिले नै भन्दा शो आउँदा खल्लो पो हुने हो कि ?

 

७. कोभिड १९ ले कार्यक्रमलाई निरन्तरता दिन पक्कै बाधा पुर्याएको होला, कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

हाम्रो अडिसन सकिसक्यो र अब हामी फिजिकल अडिसनको तयारीमा छौं । यो अंग्रेजी नयाँ वर्षको दिनबाट दर्शकहरुलाई फेरि हसाउन आउने छौं र हामी कोभिड छिचोल्दै जनवरी १ बाट घरघरमा हाँसो लिएर आउनेछौं ।

 

८. अन्त्यमा, दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ कि ?

दर्शकहरुलाई गत संस्करणको केमेडी च्याम्पियन एकदम मनपरेको छ । यो पटक पनि माया कायम राख्नुहोला । बेष्ट अफ बेष्ट प्रोडक्ट लिएर आउनेछौं भन्न चाहन्छु ।

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि