Date
शुक्र, कार्तिक ७, २०७७
Fri, October 23, 2020

लघु-चलचित्र ‘रगत’ – समिक्षा

नेपाली सेनाका लागि नेसन मिडिया ग्रुप प्रालिद्वारा निर्मित लघु-चलचित्र ‘रगत’ केहि साता अघि युट्युबमा सार्वजनिक भयो । पुरुषोत्तम बस्नेतको लेखन र निर्देशन रहेको चलचित्र ‘रगत’ सेनाको कथामा बनेको चलचित्र हो । उक्त चलचित्र नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको थियो ।

कथा सार:

भूतपूर्व सैनिकको एकमात्र सपना हुन्छ कि आफ्नो छोराले सेनामा भर्ती भएर देशको सेवा गरोस् । तर, छोरा भने अमेरिका जाने सपना बुनेर बसेको हुन्छ । एक्लो छोरोले आफुले भनेको नमान्दा दुःखी भएपनि मौका पाउने बित्तिकै छोरालाई सेनामा जान झक्झकाइरहन्छ । उसको प्रेमिकाले पनि सेनामै जानको लागि भन्छे । तैपनि उसलाई सेनामा जाने कुनै रुची नै हुँदैन । प्रेमिका भने सेनामै जाने योजनामा हुन्छिन् । उसले अमेरिका जानको लागि प्रेमिका पनि छोड्न सक्ने मनसाय व्यक्त गर्छ ।

 

 

उसले डि.भी. भरिसकेको हुन्छ र एकदिन डि.भी. परेको खबर घरमा सुनाउछ । बुबाले अझैपनि देशमै बसेर सेवा गर्न सुझाउँछन् तर छोराको ढिपी अगाडि आमाबुबाको केहि लाग्दैन । ऊ काठमाडौं जान गाडी चढ्छ तर दुर्भाग्यवश गाडी दुर्घटनामा पर्छ । उसको उपचार सैनिक अस्पतालमै हुन्छ र त्यहाँ आफ्नो पुरानो साथी भेट्छ जो २ वर्ष अगाडि डि.भी. परेर अमेरिका पुगेको हुन्छ तर पैसाभन्दा स्वाभिमान ठूलो सम्झेर नेपाल फर्केको हुन्छ । साथीको केहि बचनले ऊ सोच्न बाध्य हुन्छ । बुबाले सेनाको महत्वबारे भनेका एकएक शब्दले उसलाई अमेरिका जान रोक्छ । अन्ततः अमेरिका जाने सोचलाई त्यागेर सेनामा भर्ना हुन जान्छ । त्यहाँ पुग्दा आफ्नो प्रेमिका पनि अधिकृत क्याडेटमा भर्ना हुन आएको देख्छ र दुवै भर्ना हुन्छन् । २ वर्षसम्म घरमा पनि खबर नगरी सेनामा मिहिनेत गरेर तालिम लिन्छन् । र, अन्त्यमा सेकेन्ड लेफ्टिनेन्ट भएर दुवै गाउँ फर्कन्छन् । आमा बुबा औधी खुशी हुन्छन् । यसरी एक युवा अमेरिका जाने सपनालाई त्यागेर नेपाली सेनामा कसरी प्रवेश गर्छ भन्ने मूल विषयलाई यस चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र हेरिसकेपछि हरेक नेपालीको मनमा सेनाप्रति आस्था जाग्नेछ ।

 

 

चलचित्रको कथा सामान्य छ तर कथालाई दृश्यमा उतार्न निर्देशकले गरेको मिहिनेत प्रष्टै देखिन्छ । गाउँले परिवेश अनि रहनसहनलाई पनि निर्देशकले राम्रोसँग देखाउन सफल भएको छ । छायाँकन र सम्पादनको पक्ष पनि बलियो छ । कलाकारहरुको अभिनयले कथालाई प्रस्तुत गर्न अझ टेवा पुगेको छ । संगीत संयोजनमा पनि राम्रो ध्यान दिएको देखिन्छ । प्राविधिक पक्ष बलियो हुँदाहुँदै पनि कथाको सिलसिलामा केहि प्रश्न भने अवश्य उब्जिन्छ ।

  • आफ्नै बुबाले हरबखत सेनाको महत्व र गरिमाबारे सुनाउदा एकरत्ति पनि सुन्न नचाहने छोराले साथीको एउटा कुराले कसरी आफ्नो मनैदेखिको सपनालाई क्षणभरमै तुहाउन सक्यो ?

  • छोराको दुर्घटनाको खबर आमाबुबाले कसरी पाएनन् ? गाडी चढेको केहि समय नबित्दै दुर्घटना भएको देखाइएको छ । र, बुबा पनि सँधै समाचार सुन्न रुचाउने मान्छे ।

  • अमेरिका हिँडेको छोराको २ वर्षसम्म पनि केहि खबर नआउदा समेत आमाबुबाले किन खोजी गरेनन् ।

सायद यी २–३ कुरामा ध्यान दिएको भए नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता २०७६ मा ‘रगत’ पहिलो नै पो हुन्थ्यो कि ?

चलचित्र हेर्नुहोस्:

तपाईको प्रतिक्रिया