शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

क्याप्टेश रामेश्वर थापाको कृति ‘बारुदमाथि उड्दा’

क्याप्टेश रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ । आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापाको जीवनका अनुभूति समावेश भएको कृति ‘बारुदमाथि उड्दा’को शनिबार राजधानीको एलिस रिसेप्सनमा बिमोचन गरिएको हो ।

क्याप्टेन थापाले माओवादी जनयुद्धको कहालीलाग्दो समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीको उद्धार गरेका थिए । युद्धकालमा अधिकांश भिडन्तस्थल पुगेर उद्धार कार्यमा जुटेका क्याप्टेन थापाले पुस्तकमा युद्धकालका आला घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा बारुदको धुवाँमाथि उडेर गरिएको उद्धार कार्यको वर्णन गरेका छन् ।
क्याप्टेन थापाले पुस्तकमा रुकुमको खारा आक्रमण, दैलेखको नौमुले, रामेछापको बेथान आक्रमण, सिन्धुलीको भिमाद आक्रमण लगायत चालीसभन्दा बढी स्थानको घटनाक्रमको ब्याख्या पुस्तकमार्फत गरेका छन् ।

बिमोचन समारोहमा राजनीतिज्ञ, मानवअधिकारकर्मी, नागरिक अभियन्ता, पत्रकार, उद्योगी व्यवसायी लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । पुस्तकलाई बुक–हिलले बजारमा ल्याएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए । सञ्चार उद्यमीसमेत रहेका थापा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया