Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल २ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो । यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ । बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो । सुमित पाठक, विक्रम बराल, अस्मिता अधिकारी र रवि ओड ढाकाको पहिरनमा सजिएका थिए ।

ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए । कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए । कार्यक्रमको सुरुवातमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो । जजहरु कालीप्रसाद बास्कोटा, न्ह्यु बज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए । उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरु झुमिरहेका थिए ।

कार्यक्रमको पहिलो प्रस्तुतिका लागि जज कालीप्रसाद बास्कोटा मञ्चमा उपस्थित भए । ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी । हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए । कार्यक्रममा दोस्रो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे । उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए । सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन् । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो । सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए । उनको प्रस्तुति अब्बल थियो ।यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी । उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन् । ‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित । यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए । ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य । उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए । नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन् । यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मिश्रण गरेर गुनगुनाएकी थिइन् । कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन् । आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि