Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

लेख्नभन्दा कथाको शीर्षक राख्न गाह्रो-सुबिन भट्टराई

‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, र ‘मनसुन’ जस्ता चर्चित पुस्तकहरुका लेखक सुबिन भट्टराईको पाँचौ पुस्तक ‘प्रिय सुफी’ असोज ६ गते बिमोचन हुँदैछ । भट्टराईको लेखन शैलीको चर्चा पहिलो पुस्तकदेखि नै चुलिंदै आएको थियो, समर लभले भने उनलाई चर्चाको शिखरमा पुर्यायो । समर लभलाई चलचित्रको रुपमा पनि दर्शकहरुले हेर्न पाउने भएका छन् । उहि चर्चित लेखक सुबिन भट्टराईको नयाँ कृति ‘‘प्रिय सुफी’ को बारेमा फिल्मी इन्फोले गरेको कुराकानी:

कथाको शीर्षक राख्न बडो गाह्रो

‘प्रिय सुफी’ मेरो पाँचौ पुस्तक हो । मलाई लेख्नभन्दा कथाको शीर्षक राख्न बडो गाह्रो पर्छ । पहिलो पुस्तक ‘कथाकी पात्र’को नाउँ, पुस्तक प्रेसमा जानेबेला निर्णय गरिएको थियो । त्यसपछिको ‘समर लभ’मा पनि किताबको नाउँ नभएर निक्कै घोत्लिइयो । सयौँ नाउँ सोचियो होला तर निर्णय गर्न सकिएन । प्रकाशकको सल्लाह अनुसार ‘समर लभ’ राखियो । शुरुमा त्यति मन परेको थिएन । पछि त्यसको अर्थ भेटेपछि राम्रो लाग्यो । तेस्रो पुस्तकको नाउँ ‘साया’ चाहिँ पात्रबाटै लिइयो, त्योपनि अन्तिम घडीमा । चौथो ‘मनसुन’ चाहिँ अपबाद भयो । पहिला नाउँ जुरेको थियो त्यसपछि कथा लेख्न थालेँ । अहिले आएर ‘प्रिय सुफी’को सन्दर्भमा पनि त्यस्तै भयो । यसको नाउँपनि प्रेसमा किताब जानेबेलामा नै तय भो । पात्रको नाउँबाट राख्दिनँ भन्नेमा थिएँ, तर कुनै नाउँले आकर्षित गरेन ।

यो पटक केही फरक स्वाद
प्रिय सुफी लेख्न मलाई मोटामोटी चार महिना त लाग्यो होला । यो मेरा अरु कृतिभन्दा अलिकति मोटोपनि छ । धेरै पाठकहरुलाई लागिरहेको होला सुबिन भट्टराईले योपटक पनि पहिलेजस्तै प्रेम कथा नै लिएर आयो । तर होइन । यहाँ प्रेम त छ, तर भिन्नै किसिमको । परिवारसितको प्रेम अनि आफूले आफैँलाई गर्ने प्रेम यसमा महत्वपूर्ण स्थानमा छन् । केटा र केटीबीचको प्रेमको स्थान पनि छ, तर थोरै । यो पटक मेरो उपन्यासमा केही फरक स्वाद मेरा प्रिय पाठकहरुले पाउनुहुनेछ ।

कथाले मान्छेलाई आफैँप्रति प्रेम गर्न सिकाउनेछ
लेख्ने विषय मान्छेको उमेर, संगत र अवस्था अनुसार फरक पर्दै जानेरहेछ । मलाई सात, आठ वर्षअघि जे लेख्न मन लाग्थ्यो ती विषयप्रतिको रुचि आजकाल अलिक कम हुन थालेको छ । आजकाल मलाई मान्छेलाई केही प्रेरणा दिने खालको कथा लेख्न मन लाग्न थालेको छ । प्रिय सुफी त्यसैको उपज हो । विषयवस्तुमा केही फरकपना आएपनि यो कथा मेरा उही पुरानै पाठकहरुलाई नै हो । यो कथाले मान्छेलाई आफैँप्रति प्रेम गर्न सिकाउनेछ । आफ्नो जीवनको महत्व चिन्न सघाउनेछ भन्नेमा म विश्वस्त छु । बाँकी त पुस्तक ६ गते बिमोचन हुँदैछ, त्यसपछि पाठकहरुले पढेर आआफ्ना धारणा र प्रतिक्रिया दिनु नै हुनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि